“अजम्बरीको भीषण पहिरो हटाउन पालिकाको पहल, केहि दिनमा सेवा सहज हुने” – भरोसा खबर

तनहुँ सम्वाददाता, ११ श्रावण, ऋषिङ – ऋषिङ गाउँपालिकाको अजम्बरीमा गत असार २४ गते राति गएको भीषण पैरो पन्छाउन ऋषिङ गाउँपालिकाले पहल शुरू गरेको छ  ।
 
गत असार २३/२४ गतेको अविरल भारी वर्षाको कारण गएको पैरोले यातायात लगायत सम्पूर्ण सेवा बन्द भएको  थियो  । केही दिनसम्म अवरुद्ध बनेको टेलीफोन तथा मोबाइल र बिद्धुत सेवा भने सुचारू भएको छ  ।
सडकको आधार सतह नै नरहने गरि पैरो गरेकोले पुनर्निर्माण गर्न समय लागेको ऋषिङ गाउँपालिका योजना शाखा प्रमुख दानबहादुर  श्रेष्ठ ले बताएका छन ।
ऋषिङबासीलाइ दैनिक उपभोगका सामाग्री खरिद गर्न लामो यात्रा तय गर्नुपर्ने बाध्यता बनेको केहि दिनपछि स्थानीय युवाहरूको सक्रियतामा बाटोको ट्रयाक खोल्ने कार्यले मुस्किलले दुई पाङ्ग्रे सवारी चल्न सक्ने भएको छ । यसले ऋषिङबासीलाइ केही राहत मिलेको छ ।
ऋषिङ गाउँपालिकाले गण्डकी प्रदेशसंग समन्वय गरि स्थानीय उपभोक्ता समिति गठन गरि करिब २५ लाखको प्रारम्भिक अनुमान सहित सडकको ट्रयाक खोल्न लागेको र अबको केही दिनमा सम्पुर्ण सेवा सहज हुने योजना प्रमुख श्रेष्ठले बताए ।