गण्डकी प्रदेशको पहिलो आकाशे पुल निर्माणको अन्तिम चरणमा

भरोसा खबर सम्वाददाता, पोखरा, जेष्ठ २९  –  गण्डकी प्रदेशको राजधानी शहर पोखराको मुटु मानिने ब्यस्त चोक सृजनाचोकमा निर्माण भइरहेको आकाशे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पोखराको मुख्यचोकहरुमा बढिरहेकाे ट्राफिक जाम घटाउने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले पोखरा महानगरपालिकाको २ करोड ३० लाख ११ हजार र स्वः रवीन्द्र अधिकारीले सांसद विकास काेषबाट विनियोजित ५० लाखबाट पुल निर्माण भैरहेको  बताइएको छ। पुल निर्माणको जिम्मा के.एम. जे.बि.एन.एस. पोखराले ठेक्का पाएको हो ।
गत वर्ष चैत मसान्त सम्ममा निर्माण गरिसक्ने लक्ष्यसहित गण्डकी प्रदेशको पहिलो आकाशेपुलको निर्माण कार्य शुरु गरिएको थियो तर कोरोनाका कारण निर्माण केहि ढिला हुन पुगेको निर्माण पक्षले स्वीकार गरेको छ तथापि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुल असार दोस्रो हप्तामा उद्घाटन गर्ने पोखरा – ८ का वडाध्यक्षले बताउनुभयो ।
यो पुल अन्यत्रको भन्दा नयाँ तरीकाले निर्माण गरिएको छ ।स्टील जडित पुलको वीच भागमा छानो राखेर पानीमा समेत ओत लाग्न मिल्ने गरी ट्रष्ट हालिएको छ । पुलमा चढेपछि सेल्फि खिच्नका लागि नयाँ डिजाइन गरिएको बताइएको छ । यो आकाशे पुल सञ्चालनमा आएपछि आन्तरीक तथा बाहृय पर्यटन प्रवर्द्धन गर्न सहयोगी माध्यम बन्ने दावी गरिएको छ ।