जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आयोगले आज निर्णय गर्ने तयारी गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेका पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

आयोगको कानुन महाशाखा स्रोेतका अनुसार दुवै पक्षले बुझाएको सक्कल कागजातकै भरमा फैसला लिन आयोगलाई कठिनाइ परेको छ । आयोगले दुवै पक्षको बहस टुंग्याउने लक्ष्य राखेको छ ।

दुवै पक्षका ३/३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि २/२ घण्टाको समय निर्धारण गरेको छ ।

आयोगका अचिव सुरेश अधिकारीका अनुसार दुवै पक्षको कुरा सुनेर आजै केही आदेश आउन सक्नेछ ।

जसपामा कार्यकारिणी समितलिाई लिएर पनि विवाद छ । जसपा दर्ताका समयमा ५१ सदस्यीय कार्यकारिणी समिति आयोगकोे अभिलेखमा छ ।

उपेन्द्र यादव पक्ष त्यसैलाई मान्यता दिनुपर्ने अडानमा छ । महन्थ ठाकुर पक्षले पुस ७ गते थपिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने बताएको छ ।

ठाकुर पक्षले थप गरेको कार्यकरिणी समितिबारे आयोगले अझसम्म अद्यावधिक गरेको छैन् ।

त्यसैले पनि पुरानै कार्यकारिणी समितिलाई मान्यता दिए यादव पक्षले जसपाको आधिकारिकता पाउने निश्चित छ ।