प्रधानमन्त्री ओलीद्वारा ५० हजार टन युरिया मल पैंचो दिन बंगलादेशकी समकक्षीलाई आग्रह

भरोसा खबर, भाद्र १६, २०७७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यो सिजनमा खेतीपातीको लागि आवश्यक रासायनिक युरिया मल निर्यातको लागि सहयोग गर्न बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई आग्रह गरेका छन् ।

ओली र हसिनाबीच मंगलबार टेलिफोन संवाद भएको हो । संवादमा ओलीले हसिनासँग ५० हजार टन युरिया मल पैँचोका लागि आग्रह गरेका हुन् ।

दुई नेताबीचको वार्तापछि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा ओलीको आग्रहलाई हसिनाले सकारात्मक रूपमा लिएको उल्लेख गरिएको छ । ओलीले पनि सामाजिक संजाल ट्वीटरमार्फत संवादका दौरान यो सिजनमा छिटै आवश्यक परेको रासायनिक मलको निर्यातको सम्बन्धमा आफूले गरेको आग्रहलाई हसिना सकारात्मक देखिएको उल्लेख गरेका थिए ।

खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैँचो (सापटी) लिन लागेको हो । त्यसको लागि कृषि मन्त्रालयले केहि समय अघिदेखि नै गृहकार्य गर्दै आइरहेको थियो ।

कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशका लागि नेपालका राजदूत डा. वंशीधर मिश्रले पनि ढाकामा बंगलादेश सरकारसँग छलफल गरिरहेको स्रोतले जनाएको छ ।

यस्तैबीच कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई आवश्यक मलको लागि बंगलादेशसँग उच्च तहमै पहल गर्नुपर्ने औँल्याउदै प्रधानमन्त्री ओलीलाई नै भेटेर सहयोग गरिदिन आग्रह गरेका थिए ।

त्यसैलाई ध्यानमा राखेर ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाललाई मल निर्यात गर्ने सम्बन्धमा संवाद गरेका हुन् ।

वार्ताको दौरान दुई जनाले दुई मुलुकबीच व्यापार, ऊर्जा र पारवहनलगायतका विषयमा थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।