राष्ट्रपतिकी छोरीको फोटो देखाएपछि ओली आक्रोशित, ‘प्रचण्ड, उपराष्ट्रपति र माधव नेपाल जस्तो होइन’

काठमाडौं, ७ असोज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदक वितरणमा राष्ट्रपतिको छोरीको तस्बीर देखाएर जबाफ फर्काएकामा आक्रोश व्यक्त गरेका छन् ।

पछिल्ला कार्यक्रममा ओलीले प्रचण्डले आफ्नै श्रीमतीलाई, माधव नेपालले आफ्नै पितालाई पदक बाँडेको भनेर आलोचना गर्दै आएका थिए । यो अवस्थामा ‘पदक बोल्न सक्ने भए रुन्थे, उफ्रिन्थे’ भनेर ओलीले भनेका थिए ।

आफ्नो यो भनाइमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले तक्मा लिँदै गरेको तस्बीर देखाएर जबाफ दिएको भन्दै ओलीले असन्तुष्टि जनाएका हुन् ।

उनले उषाकिरणले आफ्ना पिता जननेता मदन भण्डारीलाई दिइएको पदक ग्रहण मात्र गरेको स्पष्ट पारे । प्रचण्ड र उपराष्ट्रपति नन्दबहादुर पुन जस्तो आफ्नै छोरा र माधव नेपाल जस्तो आफ्नै पितालाई जसरी उषाकिरणलाई पदक नदिएको ओलीको भनाइ थियो ।

‘आज मलाई एउटा मिडियामा मुखभरीको जबाफ दिएछन् । मिल्थ्यो भने मेडल रुन्थे, जुलुस निकाल्थे होला भनेर हिजो बोलेको थिएँ । आज त उषाकिरण भण्डारीलाई त दिएका थियौ त भनेर छापेछ । जननेता मदन भण्डारी दिएको थियो त्यो । उहाँ बितिसकेकाले छोरीले ग्रहण गरेको हो’, उनले भने ।

उनले अगाडि थपे, ‘हामीले प्रचण्ड जस्तो, उपराष्ट्रपति जस्तो, आफ्नै छोरालाई दिने, कसैले आफ्नै बालाई दिनेजस्तो होइन । उषाकिरण भण्डारीले आफ्नो पिताको मरणोपरान्त पदक लिएको हो । उहाँलाई पदक दिइएको होइन ।’