सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण १५ दिनभित्र  महान्यायाधिवक्ताको कार्यालय मार्फत दिन आदेश दिएको हो ।सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको छ ।

संसद विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै कानून व्यवसायी अदालत पुगेका थिए । सर्वोच्चले मंगलबार उक्त रिटमाथिको सुनुवाइ भिडियो कन्फरेन्सिङमार्फत गरेको हो ।