भरोसा खबर, काठमाडौं, ११ भदौ । पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८४ पुगेको छ।
२४ घण्टामा पर्सामा तीन र बुटवल र ललितपुरमा दुई/दुई, बाँके, सुनसरी र पोखरामा एक–एक जनाको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पाँच महिला र तीन पुरूष छन्।ललितुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रूपन्देही र बाँकेकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यसैगरी काठमाडौंका ४८ वर्षीय, पर्साका ३२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरूषको मृत्यु भएको छ।
यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहाका ५५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाकाअनुसार अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि भदौ ६ गते सिरहा नगरगरपालिका १ बस्ने ती पुरुष उपचारका लागि प्रतिष्ठान आएका थिए ।
पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ३ सय ३४ महिला र ७ सय ७७ पुगेर गरेर २४ घण्टामा ११ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता प्रा.डा. गौतमका अनुसार १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ११ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ४७ हजार ८८१ पुगेको छ। अहिले क्वारेन्टाइनमा ९ हजार ४८८ जना रहेका छन् ।