कास्की सम्वाददाता, २१ बैशाख, पोखरा । आज पोखरा वृद्धाश्रममा एक कार्यक्रम सम्पन्न भएको छ । निस्सी सामुदायिक मण्डली र रेखा गुरुङको संयुक्त पहलमा पोखरा वृद्धाश्रममा रहेका करिव ४९ जना वृद्धवृद्धा सहित ६५ जनालाई खाना खुवाउनुका साथै जुस वितरण गरेको हो ।
उक्त अवसरमा निस्सी सामुदायिक मण्डली बिजयपुरको समूहले प्रार्थना सहितको १ घन्टाको सङगतीद्वारा उत्साहित गरेको थियो । सो अवसरमा पाष्टर बिक्रम कुमार श्रेष्ठले आफ्नो जीवन गवाही सहित परमेश्वरलाई बिश्वास गरेको तथ्य खुलाए । रेखा गुरुङ पनि निस्सी सामुदायिक मण्डलीको विस्वासी हुन् । पोखरा वृद्धाश्रमले चित्तबुझ्दो व्यवहार नगरेको र धेरै समस्याहरु भोग्नुपरेको कारण कोहीपनि यस्तो ठाउँमा नआओस भन्दै घान्द्रुक घर बताउने एक वृद्धाले भरोसा खबरलाइ आफ्नो दुखेसो पोखिन् तर व्यवस्थापन समितिले उक्त गुनासो निराधार भएको बताएको छ ।
७ जना वृद्धवृद्धा राखी बि.सं. २०५३ सालमा ऋषिकेशव पराजुलीको सक्रियतामा ११ रोपनी क्षेत्रमा स्थापना भएको वृद्धाश्रम विभिन्न समस्या र चुनौतीसंग जुध्दै वर्तमान अवस्थामा आइपुगेको र हाल ४९ जना वृद्धवृद्धाहरुको व्यवस्थापन गरिएको रुद्र प्रसाद कोइरालाले बताए ।
हाल सम्म कुनै पनि सरकारी सहयोग उपलब्ध नभएको भएपनी नेपाली सहयोगी मनहरुले उपलब्ध गराएको सहयोग रकमलाइ अक्षयकोषमा परिवर्तन गरि व्यवस्थित गरेको छ । सुबिधा भएको प्रत्येक कोठामा बढीमा दुई जना राखेको, वर्षको २ पटक भ्रमण लैजाने गरेको, वार्षिक खर्च करिव ५५ लाख रहेको र सो को पुर्ती भिक्षा, चन्दा, सहयोगबाट भइरहेको बताए ।