आजको दिनभरको भरोसा खबर

भरोसा खबर, २५ साउन, काठमाडौं ।


पहिलो समाचार:

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे कडा टिप्पणी गरेको छ ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने बैठकले प्रधानमन्त्रीको मानसिक तथा शारीरिक स्वास्थ्यबारे टिप्पणी गरेको हो ।

‘बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड–१९ को महाविपत्तिबाट मुक्त भई नसकेको अवस्थामा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ’ केन्द्रीय कार्यकारिणी समितिको शनिबार सम्पन्न बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

जसपाले प्रधानमन्त्री ओलीलाई अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्ने तथा प्रतिपक्षलाई भूमिका विहीन गराउने किसिमबाट अधिनायवादी चरित्र देखाएको, संविधान संशोधन गर्ने सहमतिको परिपालना नगरी सरकार टिकाउन साम, दाम, दण्ड, भेद जस्ता अपराध गर्न अग्रसर भएको, राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने वालापन देखाएको आरोप समेत लगाएको छ ।

नागरिकता सम्बन्धी विधेयकमा लैंगिक विभेद गर्नुका साथै भारत लगायतका देशसँगको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक सम्बन्धलाई अवरुद्ध गर्ने प्रावधान राखिएको जसपाको ठहर छ ।

बैठकले सांसद रेशम चौधरी लगायतका मधेश÷थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा गर्न माग गरेको छ ।

कञ्चनपुरकी निर्मला पन्त, रुकुम चौरजहारी हत्या घटना लगायतका हत्या, हिंसाका घट्नाले सरकार शान्ति सुरक्षा कायम गर्न असफल रहेको जसपाको निचोड छ ।

कोभिड–१९ सँगै बाढी, पहिरो, भूक्षय र डुबान जोखिम न्यूनीकरण, वैकल्पिक शिक्षा र कृषि सामग्री उपलब्ध गराउन सरकार तदारुकताका साथ लाग्नुपर्ने उसको सुझाव छ ।

जसपाले माडी नगरपालिका–९ कुसुमखोलास्थित चेपाङवस्तीमा आगजनी गर्नेलाई छानविन गरेर कारवाही गर्नुपर्ने माग गरेको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जसपाको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठकमा राजनीतिक प्रतिवेदन, समायोजन निर्देशिका, आर्थिक व्यवस्थापनका एजेण्डा प्रस्तुत गरिएको थियो ।

दोस्रो समाचार:

काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।

आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।

तेस्रो समाचार:

पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७५ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९० जना संक्रमित थपिएका छन् ।

यस्तै पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७/१७ जना, महोत्तरीका १५ र रुपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको छ । डोटीका ८, चितवनका ७, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, नवलपुर, दाङ र जुम्लाका ४/४ जना, नुवाकोट र डडेलधुराका ३/३ जना, ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका २/२ जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७५ पुगेको छ ।

कास्कीमा एक पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा–१९ का ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । १७ साउनमा अस्पताल भर्ना भएका उनी मधुमेहका विरामी थिए ।

यस्तै वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएकी महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

चौथों समाचार:

 गोंगबु चोकबाट गणेश मन्दिरतिर छिर्ने बाटोमा एक सय मिटर अघि बढेपछि नवज्योति मार्ग आउँछ । आइतबार एकाबिहानै त्यहाँ हिँड्ने एक सर्वसाधारणले सडकको दाहिने किनारमा रगतले लतपतिएको सुटकेश फेला पारे ।

उनले तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । त्यसपछि यो खबर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापालगायत अधिकृतहरु कहाँ पुग्यो ।

जघन्य अपराधको संकेत पाएका ज्ञवाली र थापा आफैं घटनास्थलमा खटिए । फरेन्सिक विज्ञ र केन्द्रीय कुकुर तालिम केन्द्रका टोलीलाई पनि त्यहाँ बोलाइयो । त्यतिञ्जेलसम्म सुटकेश खोलिएको थिएन ।

तर, सुटकेशमा शव भएको कुरामा कुनै द्विविधा थिएन । ‘कुकुरलाई सुँघाएर अनुसन्धान गर्न सजिलो होस् भनेर हामीले सुटकेश खोल्न हतार गरेनौं’, अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग सुनाए, ‘सबै टोली पुगेपछि खोल्दा सुटकेशमा टाउको र खुट्टाविनाको शव भेटियो ।’

सुटकेशभित्रको शव अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको भएको चिकित्सकले अनुमान गरे । तर, टाउको नभेटिइ अनुसन्धानलाई अघि बढाउन गाह्रो थियो ।

कुकुरले भेट्यो टाउको र खुट्टा

शवको अन्य भाग कहाँ गयो त ? यो पत्ता लगाउन प्रहरीले विशेष तालिम प्राप्त जोजो नामक ट्याकर कुकुरको सहारा लियो । प्रहरीले यो कुकुर ०७४ सालमा बेलारुसबाट खरिद गरेको थियो ।

सुटकेश सुँघाएर छाडिएको कुकुर तीन सय मिटर पर गएर रोकियो, जहाँ अर्को जेब्रा झोला भेटियो । ‘झोला खोलेर हेर्दा टाउको र खुट्टा भेटियो’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘टाउको भेटिएसँगै अनुसन्धान एक चरण अघि बढेको छ, टाउको नभएको भए, सनाखत गर्नै धौधौ पर्थ्यो ।’

दुवै स्थानमा भेटिएको शवको टुक्राको अवलोकनबाट फरेन्सिक विज्ञले घटना पछिल्लो १२ घण्टाको अवधिमा भएको हुनसक्ने निष्कर्ष निकालेका छन् । यद्यपि, यसबारे विस्तृत विवरण पोष्टमार्टम रिपोर्टले नै खुलाउनेछ । हाल पोष्टमार्टमका लागि शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको छ ।

शवको प्रकृति हेर्दा खुट्टा एकैपटकमा छिनाएको जस्तो देखिएको छ । त्यसैले यो घटनामा हतियार चलाइराख्ने व्यवसायिक व्यक्ति संलग्न हुनसक्ने अनुमान गरिएको छ । ‘मासु काट्ने वा निरन्तर हतियार चलाएका व्यक्ति नै यसमा संलग्न हुनसक्छन्’, स्रोत भन्छ, ‘तर सनाखत नभइ यकिनका साथ भन्न हतारो हुन्छ ।’

सनाखत गर्ने प्रयासमा प्रहरी

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार अहिले शवको सनाखत गर्ने प्रयास जारी छ । यसका लागि बेपत्ता व्यक्तिहरुको फाइल प्रहरीले पल्टाइरहेको छ । घरबाटै कोही हराएको भए खबर गर्न अनुरोध गरेको छ ।

पछिल्लो पटक अपहरण भएको कुनै घटना पनि प्रहरी कहाँ रिपोर्ट भएको छैन । त्यसैले प्रहरीले अहिले प्राविधिक पक्षको विश्लेषणबाट अनुसन्धान गरिरहेको छ ।

शव भेटिएको स्थान नजिकैका व्यक्तिहरुले बताए अनुसार मध्यराति सडकमा एक पुरुष र महिला हिँडेको आवाज सुनिएको थियो । तर उनीहरुले अनुहार नदेखेको बताएका छन् ।

प्रहरीले यो बयानलाई पनि केन्द्रमा राखेर क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको विश्लेषण गरिरहेको छ । तर रातको समय र पानी परिरहेका बेला भएकाले सीसी टीभी फुटेजको विश्लेषण पनि सहज छैन ।

प्रारम्भिक अनुसन्धानमा शव भेटिएको स्थानमा हत्या भएको सम्भवना कम रहेको अधिकृतहरु बताउँछन् । ‘अन्त कतै हत्या गरेर यहाँ फ्यालिएको हुनसक्छ’, स्रोत भन्छ, ‘जुन प्रकृतिले सुटकेश र झोलामा शव राखिएको छ, यो व्यवस्थापन गर्न यहाँ ल्याइएको जस्तो देखिएको छ ।’

अपराधमा संलग्न व्यक्तिहरुले घना वस्तीमा शव फ्यालेकाले यसमा व्यवसायिक अपराधीको संलग्नता हुनसक्ने सम्भवना भने कम छ । फेरि टाउको पनि नजिकै भेटिनुले यो आशंकालाई थप बल पुर्‍याएको छ । थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

पाँचौं समाचार:

अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो ।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन् ।

उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ । महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् ।

उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए । अध्यक्ष प्रचण्डका पनि सुरक्षाकर्मीमा संक्रमण देखिएपछि  आइसोलेसनमा बसेका छन् ।

छैटौं समाचार:

भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याएको छ ।

जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए ।

प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।

 सातौँ समाचार :

नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-९को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरुआत गरे ।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थि्र फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ । स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु पर्ने छैन । विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ ।

मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने छ । कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने छ । स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमान्ड चुहावट नियन्त्रण हुन्छ ।

कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुंगा भएको बताए ।

प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २ सय २२ टाइम अफ डे -टिओडी) मिटरहरुलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करिब १ लाख २५ हजार थि्र फेज होल करेन्ट मीटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ । यस्ता करिब १८ हजार मीटर जडान भइसकेका छन् । ६० हजार मिटर जडान भइरहेको छ । नयाँ थ्रि फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ ।

स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन व्याकबोन’ काठमाडौं उपत्यकाभरीलाई हुने गरी जडान गरिने छ । यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब १ अर्ब रुपैयाँ रहेको छ । यसमा एसियाली विकास बैकले सहुलितपूर्ण ऋण दिएको छ ।

काठमाडौं उपत्यकामा हाल रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

आठौँ समाचार:

कोरोना संक्रमण बढेसँगै जोखिम उच्च भएको भन्दै मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले सोमबार राति १२ बजेदेखि बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

हेटौंडा उपमहानगपालिका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि आकस्मिक रुपमा बसेको बैठकले हेटौंडा र मनहरी बजार क्षेत्र केन्द्रित निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार मानिसको चाप हुने भएकाले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको मनहरी बजार क्षेत्र केन्द्रित गरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कमाण्ड पोष्टले गरेको निर्णयपछि भोलि बस्ने जिल्ला सुरक्षा समितिको बैठकले बाँकी निर्णयहरु सार्वजानिक गर्ने प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।

प्रशासनले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । पछिल्लो दिनहरुमा मकवानपुरमा संक्रमितको संख्या बढ्दै गएको छ । अहिले हेटौंडा अस्पतालको आइसोलेसन वार्डमा ४० जना संक्रमित रहेका छन् ।

राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदा....

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

भरोसा खबर, २५ भदौ,काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्....

काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७ हजार

भरोसा खबर,  १८ भदौ २०७७  काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब....

View all

विप्वल समूहका इञ्चार्ज पक्राउ

जाजरकोट, २९ कात्तिक (रासस) ः नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलग....

वाइडबडी जहाज खरिदमा तीन अर्ब ८८ करोड भ्रष्टाचार ठहर

पौस १६, काठमाडौँ। संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको ३३ पृष्ठको प्रतिवेदनले जहाज किन्दा सार्वजनिक खरिद प्रक्रिया मिचेर ३ अ....

जातीय बिभेदको मूल स्रोत नै हिन्दू धर्म हो :नेता भट्टराई

काठमाडौं । ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ पूर्वप्रधानमन्त्री डा. ब....

राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदा....

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

भरोसा खबर, २५ भदौ,काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्....

राष्ट्रिय झण्डा जलाउने कार्यमा ख्रीष्टियन समुदायको कुनै सम्बन्ध छैन:राष्ट्रिय ख्रीष्टियन महासंघ

भरोसा खबर, २०७७ भदौ ३, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज एक विज्ञप्ति जारि गरी राष्ट्रिय झण्डा जलाएको विषयप्रति दु:ख व्यक्त गर्दै ध्या....

View all