एमसीसीमा शेरबहादुर र प्रचण्ड झगडा गर्छन् भनेर गठबन्धन टुटाउने प्रयास भयो : प्रचण्ड

काठमाडौं, ७ असोज

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन तोड्न अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।

‘गठबन्धन तोड्न अनेक षड्यन्त्र भइरहहेको छ । सबै षड्यन्त्रबारे हिजो साँझ बालुवाटारमा समीक्षा गरेका छौं । जस्तोसुकै मूल्य चुकाउन त्याग गर्न तयार हुने सहमति भएको छ । आगामी निर्वाचनसम्म गठबन्धन बनाएरै चुनाव लड्ने समझदारी छ । तर गठबन्धन कमजोर हुन नदिने संकल्प गरेका छौं,’ पाँचखालमा वाईसीएलको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने ।

संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उनको भनाइ थियो । एमसीसी देखाएर पनि गठबन्धन फुटाउन खोजिएको उनले गुनासो गरे । ‘एमसीसी ल्याएर दिमाग खराब गर्ने, एमसीसी देखाएर गठबन्धन टुटाउने, एमसीसीमा प्रचण्ड शेरबहादुर झगडा गर्छन् र टुट्छ भन्ने छ,’ प्रचण्डले भने, ‘तर एमसीसी परिमार्जन गरेर राष्ट्रहितमा बनाएर जान सकिन्छ । गठबन्धनमा एमसीसी मुख्य होइन, गठबन्धन बचाउने मुख्य हो भन्नेमा सहमत छौं । गठबन्धन फुटाउने षड्यन्त्र असफल पारेका छौं ।’