यसरी हुँदै छ एमालेको ‘हाइटेक’ विधान महाधिवेशन

भरोसा खबर, काठमाडौं, ११ असोज नेकपा एमालेको यही १५ असोजदेखि हुन गइरहेको विधान महाधिवेशनस्थल ‘हाइटेक’ रहेको छ । विधान महाधिवेशन नेपालकै सबैभन्दा ठूलो क्षमताको सभा हल गोदावरीस्थित सनराइज सम्मेलनमा हुने भएको हो ।
 
अत्याधुनिक प्रविधिबाट निर्माण गरिएको सभा हल ‘हाइटेक’ रहेको छ । महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जना अट्ने सभा हलमा अत्याधुनिक उपकरण जडान गरिएको छ । करिब तीन हजार कुर्सी रहेको सभा हलमा दायाँ-बायाँ रहेका कोठामा एक हजारका दरले थप दुई हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुन सक्ने व्यवस्था मञ्च व्यवस्थापन समितिले मिलाएको छ ।
 
सभा हलमा दुई हजार ८४० कुर्सी रहेका र त्यसभित्र थप २०० कुर्सी राख्न सकिनेछ । पाँच लाइन रहेका राता कुर्सीमा प्रतिनिधि बस्नेछन् ।
सभा हलमा पस्नका लागि विभिन्न ससाना कोठा हुँदै प्रवेश गर्नुपर्नेछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई एउटा गाइडकापीसमेत आयोजकले उपलब्ध गराउनेछ ।
पत्रकारका लागि बार्दलीमा दायाँ-बायाँ छुट्टै कोठा रहेका छन् । एउटा कोठामा २० जना पत्रकार अटाउने क्षमता रहेको छ ।
 
मञ्च व्यवस्थापक समितिका संयोजक विनोद श्रेष्ठले प्रतिनिधि कतै पनि नअलमलिऊन् भन्नका लागि प्रतिवेदनसहित वितरण गर्ने झोलामा सभा हलभित्र पस्नका लागि गाइडकापीसमेत राखिने बताए । ‘उक्त गाइडकापीले सभा हलमा पस्नका लागि सिकाउँछ’, उनले भने, ‘कहाँबाट म प्रवेश गर्दा कहाँ पुग्छु भन्ने सबै कुरा गाइडकापीमा नै हुनेछ । सोही कापीको आधारमा नै शौचालय, खाना खाने ठाउँ, पानी खाने ठाउँ प्रतिनिधिले थाहा पाउनेछन् ।’
 
उनका अनुसार सभाको मञ्चको दायाँ-बायाँमा दुई ठूला स्क्रिनहरू राखिनेछ । यस्तै, हलबाहिर पनि एउटा स्क्रिन र सभास्थलभन्दा बाहिर सर्वसाधारणका लागि पनि ठूला दुईवटा स्क्रिन राखिने समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।
 
मञ्चमा नै सबै केन्द्रीय सदस्य
एमालेले मञ्चमा नै सबै केन्द्रीय सदस्य अटाउने व्यवस्था गरेको छ । तल कुर्सीमा प्रतिनिधिको व्यवस्थापन गर्नका लागि सबै केन्द्रीय सदस्यलाई मञ्चमा नै अट्ने गरी व्यवस्थापन गर्न थालिएको मञ्च व्यवस्थापन समिति संयोजक श्रेष्ठले जानकारी दिए । ‘पहिला स्थायी कमिटी सदस्यलाई मात्र मञ्चमा राख्ने भनिएको थियो’, उनले भने, ‘तर, अहिले प्रतिनिधि संख्या पनि पाँच हजार पुग्यो । त्यही भएर हामीले सबै केन्द्रीय सदस्यलाई मञ्चमै व्यवस्थापन गर्ने भनेर तयारी गरिरहेका छौँ ।’
 
सभा हलभित्र पस्न ३० वटा गेट
महाधिवेशनस्थलमा पुग्नका लागि प्रतिनिधिले ३० वटा गेट पार गर्नुपर्ने हुन्छ । ३० वटा गेट पार गरिसकेपछि सभा हलमा प्रवेश गर्नेछन् ।
सभा हलमा प्रदेशअनुसारका प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
 
गाडी नहुने प्रतिनिधिलाई सातदोबाटोबाट ल्याइने
काठमाडौंबाट गाडीमा आउने प्रतिनिधिलाई सातदोबाटोबाट स्वयंसेवकले गाडीमा हालेर महाधिवेशनस्थल ल्याउनेछन् । त्यसका लागि बिहान ९ देखि ११ बजेसम्म आयोजकले २० देखि ३० वटा गाडीको व्यवस्था गरेको छ । ‘जाम नहोस् भनेर हामीले सातदोबाटोबाट नै गाडी नहुने प्रतिनिधिलाई आफैँ गाडीको व्यवस्था गरेर ल्याउँछौँ’, एमालेका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले भने, ‘जसले गर्दा बाटो जाम हुँदैन र अन्य नेतालाई आफ्नै गाडीमा आउन सजिलो हुन्छ ।’
 
महाधिवेशनका लागि ३०० जना स्वयंसेवक परिचालन गरिने उनको भनाइ छ । ती स्वयंसेवकले प्रतिनिधिलाई सहजीकरण गर्नेछन् । आफ्नै गाडीमा आउने प्रतिनिधिलाई भने पार्किङको व्यवस्था गरिएको छ । करिब एक हजार गाडी अट्ने पार्किङ सभास्थलमा रहेको छ ।
 
सभास्थलभित्र भने शीर्ष नेताका मात्र पार्किङ व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिए । सभास्थलभित्र १५ वटा गाडी अट्नेछन् ।
 
सभाको बाहिर पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, कार्ल मार्क्सलगायतका ठूला डमीका फोटो राखिनेछ ।
 
‘बाहिर नेताहरूको फोटो र सजावट देखेर पाँच हजार जना प्रतिनिधिले नै फोटा खिचून् भनेर हामी सभास्थलको सजावट गर्न थालेका छौँ’, उनले भने ।
 
खाना ननभेज र भेज
यस्तै, प्रतिनिधिलाई खाना र खाजाको व्यवस्था गरिएको छ । खाना बिहान मात्र ननभेज र भेज दुवै छन् । कुन क्याटरिङलाई खाना र खाजाको जिम्मा दिने भन्ने अहिलेसम्म टुंगो नलागेको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए ।
 
खाजाका लागि भने प्याकेटको व्यवस्था गरिएको छ । खाना बिहान ९ देखि ११ बजेसम्म खाएर सभास्थल प्रतिनिधि प्रवेश गरिसक्नेछन् । एकै पटकमा २०० जनाले खाना खानेगरी व्यवस्थापन गरिएको उनले बताए ।